मिलिजुली बचत तथा ऋण सहकारीको २४ औँ बार्षिक साधारण सभा सम्पन्न

रेडियो सिन्धुलीगढी, ०९ असोज २०८३, शुक्रबार ।
मिलिजुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औँ बार्षिक साधारण सभा सम्पन्न भएकोे छ । जिल्लाको कमलामाई नगरपालिका ६ धुराबजारमा अवस्थिति यस सहकारीले आज (शुक्रबार) आफ्नो २४ औँ बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
साधारण सभाका प्रमुख अतिथि तथा सिड्स नेपाल सिन्धुलीका अध्यक्ष दीपककुमार घिमिरेले सहकारीले आफ्ना शेयर सदस्यलाई बचत र ऋण कारोबारमा मात्र सीमित नराखी आयआर्जनसँग जोड्नुपर्नेमा जोड दिनुभयो । सदस्यलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन सीपमूलक तथा उत्पादनमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाँको भनाइ थियो ।
विशेषगरी महिलालाई लक्षित गरी सहुलियतपूर्ण ऋण तथा आयआर्जनका कार्यक्रम ल्याउन सके उनीहरूको आर्थिक अवस्था सुधार हुनुका साथै परिवारको आयस्तरसमेत वृद्धि हुने उहाँले बताउनुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष उज्ज्वल ढकालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनअनुसार सहकारीले आर्थिक वर्ष २०८२/८३ मा १ करोड ३६ लाख ९ हजार ९ सय २६ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा संस्थाले ६९ लाख ८२ हजार २ सय ३४ रुपैयाँ खुद नाफा कमाएको थियो ।
अध्यक्ष ढकालले चालु वर्षमा सदस्यता विस्तारलाई प्राथमिकतामा राख्दै संस्थाका असल अभ्यासलाई निरन्तरता दिने र सुधार आवश्यक देखिएका क्षेत्रमा समयअनुकूल परिमार्जन गर्दै लैजाने बताउँनु भयो । सदस्यहरूको आवश्यकता र रुचिलाई ध्यानमा राखेर छोटो समयमै आम्दानी गर्न सकिने दुईवटा सीपमूलक तालिम सञ्चालन गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।
साधारण सभामा कमलामाई नगरपालिकाको भूमि तथा सहकारी शाखाका अधिकृत मुकेश तामाङ, जिल्ला सहकारी संघका अध्यक्ष नवराज कोइराला, जनज्योति माध्यमिक विद्यालय फोस्रेटाका प्रधानाध्यापक योगेन्द्रप्रसाद अधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा पाँच/पाँच जना बाल बचतकर्ता, मासिक बचतकर्ता, दैनिक बचतकर्ता र असल ऋणी तथा एक जना उत्कृष्ट कर्मचारीलाई प्रमाणपत्रसहित सम्मान गरिएका थियो ।
यसैगरी, संस्थामा आबद्ध सदस्यका छोराछोरीमध्ये उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको छ । छात्रवृत्तिअन्तर्गत तीनवटा विद्यालयमा अध्ययनरत तीन जना विद्यार्थीलाई एक वर्षका लागि आवश्यक पर्ने किताब, कापी, डटपेन, विद्यालय पोसाक तथा स्कुल ब्यागलगायतका शैक्षिक सामग्री वितरण गरिएको छ ।
सहकारीले आयोजना गरेको अन्तरमाध्यमिक विद्यालयस्तरीय “समुदायमा सहकारीको महत्व” विषयक निबन्ध लेखन प्रतियोगितामा प्रथम हुने जनज्योति माध्यमिक विद्यालय फोस्रेटाका कृष्ण पोखरेल, द्वितीय हुने सिद्धबाबा माध्यमिक विद्यालय पानीट्याङ्कीकी मिना विश्वकर्मा र तृतीय हुने गौमती माध्यमिक विद्यालयकी प्रशंसा थापामगरलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा लेखा सुपरिवेक्षण समितिकी संयोजक बालकुमारी श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो भने शिक्षा उपसमितिका संयोजक तथा सञ्चालक समितिका सदस्य सन्तोष थापाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष उज्ज्वल ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, लेखा सुपरिवेक्षण समितिका संयोजक तथा सदस्य, सञ्चालक समितिका पदाधिकारी तथा सदस्य, भीमान सेवाकेन्द्र व्यवस्थापन समितिका पदाधिकारी, विभिन्न उपसमितिका सदस्य, व्यवस्थापक तथा कर्मचारी र शेयर सदस्यहरूको सहभागिता रहेको थियो ।
२०५९ साल जेठ ३ गते स्थापना भएको मिलिजुली बचत तथा ऋण सहकारी संस्थामा हाल ५ हजार ६ सय ५६ जना शेयर सदस्य आबद्ध रहेका छन् ।

विश्व पर्यटन दिवसमा ‘फोर्ट स्टेज राइड’ को तेस्रो संस्करणको तयारी: हरिहरपुरगढीमा अग्नि रेखालाई साइकल लेन बनाउने प्रस्ताव
रेडियो सिन्धुलीगढी, १० असोज २०८३, शनिबार । नेपालको ऐतिहासिक सम्पदा संरक्षण र दिगो पर्यटनलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यका साथ ३९०.५ किलोमिटर

सिन्धुलीका सम्पदा, गन्तव्य, हरित आतिथ्य र रैथाने खाद्य प्रणालीको डिजिटल म्यापिङमा विद्यार्थी सहभागी
रेडियो सिन्धुलीगढी, ०९ असोज २०८३, शुक्रबार । आगामी डिसेम्बर २०२६ मा आयोजना गर्न लागिएको ३९०.५ किमी लामो ’फोर्ट स्टेज राइड’ साइकलिङ उत्सव तथा न्यून

भारी वर्षाको पुर्वानुमानपछि सिन्धुलीको आठ पालिकाका विद्यालय बिदा
रेडियो सिन्धुलीगढी, ०८ असोज २०८३, बिहिबार । जल तथा मौसम विज्ञान विभागले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुन







प्रतिकृया दिनुहोस