महिला तथा बालबालिकामाथि हुने हिंसा रोक्न माग गर्दै सहायक प्रजिअ मार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाईयो 

SITENAME

रेडियो सिन्धुलीगढी, ०८ भदौ २०८३, सोमबार ।

महिला अधिकारको क्षेत्रमा क्रियाशील सिन्धुलीका सात वटा संगठनले महिला तथा बालबालिकामाथि भइरहेका बलात्कार, हत्या र लैङ्गिक हिंसाका घटना रोक्न माग गर्दै गृह मन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

सोमबार अन्तरपार्टी महिला सञ्जाल, नेपाल महिला संघ, अनेमसंघ, अखिल नेपाल महिला संगठन, महिला मानवअधिकार रक्षक सञ्जाल, क्रियाशील पत्रकार महिला सिन्धुली र महिला अधिकारका राष्ट्रिय अभियान सिन्धुलीका अध्यक्ष तथा प्रतिनिधिहरुले सहायक प्रमुख जिल्ला अधिकारी मार्फत गृह मन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

सातै संगठनका अध्यक्ष तथा प्रतिनिधिले हस्ताक्षर गरेको ज्ञापनपत्रमा सिन्धुलीसहित देशभर महिला तथा बालबालिकामाथि भइरहेका बलात्कार, हत्या तथा लैङ्गिक हिंसाका श्रृङ्खलाबद्ध घटनाले समाजलाई स्तब्ध, भयभीत र आक्रोशित बनाएको उल्लेख गरिएको छ ।

ज्ञापनपत्रमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका १ दशधुरेकी तीन बर्षीया गरिमा चौधरीमाथि छिमेकीद्धारा बलात्कारपछि गरिएको हत्या, सप्तरीको दुई बर्षीया खुसी खातुनको आफ्नै सौतेनी आमाबाट भएको हत्या, जिल्लाको गोलन्जोर गाउँपालिकाकी ६ बर्षीया बालिकामाथि भएको बलात्कार प्रकरणमा पीडक पक्राउ परेपछि छुट्याईएको घटनाले न्याय प्रणाली र अनुसन्धान गर्ने निकायप्रतिको जनविश्वासमा गम्भीरप्रश्न उठाएको संगठनहरूको भनाइ छ । यस्ता घटनाले अपराधीलाई संरक्षण हुने र पीडितले न्याय नपाउने चिन्तालाई थप गहिरो बनाएको ज्ञापनपत्रमा उल्लेख छ ।

सिन्धुलीमा पनि आर्थिक बर्ष २०८२ /८३ को एक बर्षमा १ सय १ जना बालबालिका र १ सय ३१ जना महिला हराएका छन् । यहि अवधिमा २० वटा बलात्कार, ३ वटा बटा बलात्कार प्रयास, ४ वटा बाल यौन दुव्र्यवहारका घटना भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । 

१ सय १७ वटा घरेलु हिंसाका घटना प्रहरीमा दर्ता भएका छन् । साथै महिलाहरुको जघन्य प्रकारले हत्या गरिएका चार वटा घटना भएका छन् । यी तथ्याङ केबल संख्या नभएर समाजको सुरक्षा, न्याय र उत्तरदायित्वमाथिको गम्भीर चुनौती रहेको संगठनहरूले बताएका छन् ।

यस्ता जघन्य घटनापछि सरकार वार्ता, सहमति र आश्वासनमा सीमित भएको अनुभुति नागरिकले गरेका उल्लेख गर्दै राज्यको दायित्व केबल अपराधपछि प्रतिक्रिया जनाउनु नभई दण्डहिनताको अन्त्य गर्दै नागरिकलाई सुरक्षित महशुस गराउँने वातावरण निमार्ण गर्नु रहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

संगठनहरूले महिला तथा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सरकारसमक्ष सातबुँदे मागसमेत राखेका छन् । उनीहरूले बलात्कार, हत्या तथा यौनजन्य हिंसाका जघन्य अपराधमा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी प्रचलित कानुनबमोजिम अधिकतम सजाय सुनिश्चित गर्न माग गरेका छन् ।

बालबालिका पीडित भएका घटनामा कुनै पनि राजनीतिक, सामाजिक, आर्थिक वा अन्य प्रभावबाट मुक्त भई निष्पक्ष, वैज्ञानिक र समयबद्ध अनुसन्धान गर्न तथा घटनामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न, प्रमाण लुकाउने वा अपराधीलाई संरक्षण गर्ने जोसुकैलाई कानुनी दायरामा ल्याउन उनीहरूको माग छ ।

त्यसैगरी, महिला तथा बालबालिका हराउने घटनाको खोजतलास, उद्धार र पुनःस्थापनालाई उच्च प्राथमिकता दिँदै प्रभावकारी खोज तथा अनुसन्धान संयन्त्र निर्माण गर्न, राज्यका विभिन्न निकायबीच आवश्यक समन्वय र सहकार्य सुनिश्चित गर्न र प्रत्येक जिल्लामा लैङ्गिक हिंसा नियन्त्रण, पीडित संरक्षण, मनोसामाजिक परामर्श तथा कानुनी सहायताका सेवा थप सुदृढ बनाउन माग गरिएको छ ।

अनुसन्धान निकायको जवाफदेहिता बढाई अनुसन्धानमा ढिलासुस्ती वा लापरवाही गर्ने जिम्मेवार अधिकारीमाथि समेत आवश्यक कानुनी कारबाही गर्नुपर्ने माग संगठनहरूको छ ।

यस्तै, विद्यालय, क्याम्पस, समुदाय, स्थानीय सरोकारवाला तथा स्थानीय तहसँग समन्वय गरी बाल संरक्षण र लैङ्गिक हिंसा न्यूनीकरणका लागि व्यापक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न पनि सरकारसँग आग्रह गरिएको छ ।

ज्ञापनपत्रमा भनिएको छ, “महिला तथा बालबालिकाको सुरक्षा कुनै एक समुदाय वा संस्थाको मात्र सरोकार होइन । यो लोकतान्त्रिक राज्यको आधारभूत जिम्मेवारी हो । न्यायमा ढिलाइ हुनु भनेको न्यायबाट वञ्चित हुनु हो भन्ने सिद्धान्तलाई आत्मसात् गर्दै पीडितले शीघ्र, निष्पक्ष र प्रभावकारी न्याय पाउने व्यवस्था गर्न हामी सरकारसँग दृढतापूर्वक आग्रह गर्दछौँ ।”

 

प्रतिकृया दिनुहोस
SITENAME

स्वर्णिम भविष्य बचत तथा ऋण सहकारीको १८ औँ वार्षिक साधारण सभा सम्पन्न

रेडियो सिन्धुलीगढी, १३ भदौ २०८३, शनिबार । स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका

SITENAME

जिल्ला स्तरीय विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न, बाढीमा बेपत्ताभएकाहरुको उद्धारमा जुट्न आग्रह

सिन्धुली, १२ भदौ २०८३, शुक्रबार । रसुवाको भोटेकोशी, त्रिशुली हुँदै नारायणी नदी तटीय क्षेत्रमा आएको विध्वंसकारी बाढीले पु¥याएको आर्थिक, भौतिक तथा

SITENAME

रसुवा बाढीपीडितका लागि सिन्धुलीका दुई विद्यालयद्वारा सहयोग

सिन्धुली, ११ भदौ २०८३, बिहिबार । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार तथा राहतका लागि सिन्धुलीका दुई विद्यालयले