लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको पहिलो दिन सिन्धुलीमा अन्तरक्रिया

रेडियो सिन्धुलीगढी, ०९ मंसिर २०८३, बुधबार ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आज बुधबारदेखि सुरु भएको छ । ‘लैङ्गिक हिंसा अन्त्यका लागी ऐक्यबद्धता, पीडितको संरक्षण, दण्डहिनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने नाराका साथ आजबाट सुरु भएको अभियान आउँदो मंसिर २४ गतेसम्म चल्ने छ ।
अभियानको पहिलो दिन नगरपालिकाले ‘लैङ्गिक हिंसाका असर र निवारणका उपाय’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा पूर्वसांसद तथा अधिवक्ता सुशीला थिङले लैङ्गिक हिंसाका स्वरूप, यसले व्यक्ति, परिवार र समाजमा पार्ने असर तथा हिंसा न्यूनीकरणका उपायबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।
उहाँले प्रदेश तथा जिल्लामा भएका लैङ्गिक हिंसासम्बन्धी घटनाका तथ्याङ्क, हिंसा हुनुका प्रमुख कारण र नारी हत्याका केही घटनाका उदाहरणसमेत प्रस्तुत गर्नुभएको थियो । उहाँले लैङ्गिक हिंसा महिला मात्र नभई पुरुषले पनि भोग्नुपर्ने समस्या रहेको उल्लेख गर्दै हिंसामा परेपछि मौन बस्नुभन्दा त्यसविरुद्ध आवाज उठाउनुपर्ने बताउनुभयो ।
उहाँले परिवारभित्रैका सदस्य तथा नजिकका व्यक्तिबाट समेत अधिकांश हिंसाका घटना हुने गरेको भन्दै यसको न्यूनीकरणका लागि घरपरिवार र समुदायस्तरबाटै सचेतना आवश्यक रहेको धारणा राख्नुभयो । साथै, एचआईभी सङ्क्रमितलाई समाजमा अपहेलना र विभेद गर्न नहुने बताउँदै यस्ता रोगबारे भ्रम हटाउन र संक्रमणबाट बच्ने उपायबारे जनचेतना फैलाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा कमलामाई नगरपालिकाकी उपप्रमुख मञ्जु देवकोटाले पछिल्लो समय पारिवारिक हिंसाका घटना बढ्दै गएको उल्लेख गर्दै यस्ता घटनाको कारण पहिचान गरी सूक्ष्म रूपमा विश्लेषण गर्नुपर्ने बताउनुभयो । हिंसा न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन हुँदै आए पनि अपेक्षित रूपमा हिंसा अन्त्य हुन नसकेको उहाँको भनाइ थियो ।
कार्यक्रममा सहभागीहरूबीच गाउँटोल तथा छरछिमेकमा भइरहेका हिंसाका घटना रोक्न स्थानीयस्तरमा चाल्न सकिने कदम र विभिन्न निकायले निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल गरिएको थियो । सो क्रममा केही महिलाले आफूले भोगेका हिंसाका अनुभव सुनाउँदै सम्बन्धित पक्षको ध्यानाकर्षणसमेत गराएका थिए ।
कार्यक्रममा ‘म हिंसा गर्दिनँ, म हिंसा सहन्नँ, हिंसा भएमा प्रतिकार गर्छु’ अभियानको १६ दिन मात्र नभई ३ सय ६५ दिननै सभ्य सुरक्षित र हिंसामुक्त समाज निमार्णमा प्रतिबद्ध छौ भन्दै सहभागीहरुले प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका थिए ।
यसअघि नगरपालिकाले हरेक वर्ष ¥याली आयोजना गरी लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको सुरुवात गर्दै आएको थियो । तर यस वर्ष भने अन्तरक्रिया कार्यक्रममार्फत अभियानको शुभारम्भ गरिएको हो । अभियान अवधिभर नगरपालिकाका सबै वडामा लैङ्गिक हिंसाविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने छ ।
अन्तरक्रिया कार्यक्रममा वडाध्यक्षहरू, विभिन्न सङ्घसंस्था तथा राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, पत्रकार र नगरपालिकामा कार्यरत कर्मचारीहरूको सहभागिता रहेको थियो ।

गोलन्जोर आधारभुत अस्पतालमा निशुल्क हाडजोर्नी तथा नशा सम्बन्धी स्वास्थ्य शिविर संचालन हुने
रेडियो सिन्धुलीगढी, १० मंसिर २०८३, बिहिबार । सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ ग्वालटारमा रहेको गोलन्जोर आधारभुत अस्पतालमा निशुल्क हाडजोर्नी तथा

‘पत्रकारलाई सामुहिक गिरफ्तार गर’ लेखिएको ब्यानर सहित प्रशासनमा प्रदर्शन
रेडियो सिन्धुलीगढी, ०९ मंसिर २०८३, बुधबार । सिन्धुलीका विभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय सिन्धुलीको परिसरमा

हरिहरपुरगढी गाउँपालिका ५ चारखोलामा ५ करोड ७२ लाख बढी लागतमा पक्की पुल निमार्ण हुने
रेडियो सिन्धुलीगढी, ०७ मंसिर २०८३, सोमबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ५ चारखोलामा पक्की पुलको शिलान्यास गरिएको छ । हिजो (आईतबार)






प्रतिकृया दिनुहोस